Welcome to huge “NEPALI KABITA” Collection Section.... Please Log on: www.nepalikabitaharu1.blogspot.com , For Contact: nkabitaharu@gmail.com

Wednesday 22 May 2013

Bhim Birag (भिम विराग)

 

परिक्रमा

 
पूर्व उदाउँछ
पश्चिम अस्ताउँछ
झोक्रेको साँझपछि
रात निदाउँछ ।

अनि ताक पारी बसेका सम्झनाहरू
मुटु कोट्याउँछन्
ओल्टाउँछन्
पल्टाउँछन्
रात छर्लङ्ग पार्छन् ।

अनि पछि फेरि...
पूर्व उदाउँछ
पश्चिम अस्ताउँछ ।


जिन्दगी


जति हुल भएपनि
एक्लिन सक्छ मानिस
होइन भने जिन्दगीको हाहाकार बोकेर
को बाँच्न सक्थ्यो र ?
जहाँ, बिहान, साँझ र रातहरूले
जिन्दगीलाई अजिंगरले जस्तो डसिरहेको होस्
जहाँ, खतराको आभासभित्र
मुटुले सास फेरिरहेको होस्
जहाँ, आफैँसँग आफैँ
खुल्न डराइरहेको होस् मानिस
जहाँ, आफैँसँग आफैँ
आँखा बचाएर हिँडिरहेको होस् मानिस
जहाँ मानिससँग पन्छेर
हिँडिरहेको होस् जिन्दगी ।

No comments:

Post a Comment