Gopal Prasad Rimal (गोपाल प्रसाद रिमाल)
आमाको सपना
आमा, त्यो आउँछ र ?
"हो बा, त्यो आउँछ ।
त्यो विहानीको सूर्यझैं उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुण्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देखनेछौ;
त्यसैले उ अधर्मसित लड्नेछ ।
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बड्ता छोइने भएर आउँछ ।"
हो र आमा ?
"हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाँया देखने आसा गरेकी थिएँ;
तिम्रो हिँस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि;
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनी;
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो वाँसुरी बनाएनछ !
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो ।
जेहोस त्यो आउँछ;
म आमा हुँ, सारा सृजना शक्तिको मुख भएर
म भन्न सक्तछु,
त्यो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन ।
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ;
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ;
तिमी त्यसलाई आफै नै देखन सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ;
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ;
मैले यसरी रोगीलाईझैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन !
हेरौँला, त्यो हुरी भएर आउनेछ
तिमी पात भएर पछ्याउनेछौ !
उहिले त्यो जीवनलोकबाट झरेर जुनजस्तै पोखिदा
सारा जड्ता सब बगाएको थियो, बा;
त्यो आउँनेछ, तिमी उठनेछौ !"
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरुको कण्ठजस्तै
त्यो आउने आसाले मेरो हृदयलाई कुत्कुताइसक्यो आमा !
"हो, त्यो आउँछ,
त्यो बिहानीको सूर्यझैं उज्यालो छर्दै आउँछ ।
अब म उठेँ, गएँ ।"
० ० ०
"तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो ।"
0000
(2)
गुनासो
म अहिल्यै त नमरुँ, नमरुँ !
मेरो यही एउटा इच्छा, यही एउट पुकार
एउटै यो जिन्दगी गुनासो, रहीरही ठुँग्ने यो
एउटै पीर-
म नमरुँ, अहिल्यै नमरुँ !
मैले नहिर्काइ चित्तै नबुझ्ने गरी थाहा पाएँ-
मेरा यी पाखुरामा कुन बल लुकेका रहेछन-
म वालीजतिकै बलियो रहेछु
मलाई हटाउन रामलेजस्तै
लुकेर प्रहार गर्नुपर्ने रहेछ ।
त्यसैले यो मेरो भुजाको बलले,
मेरो हृदयमा जागेको जहरिलो घृणाले,
मेरो धारिलो मष्तिष्कको चोटले
मेरो दुश्मनमाथि
म आफ्नो पनि माया मारेर
निस्फिक्री नबज्रेसम्म
मलाई मारेर आजसम्म
बाँचिरहेका दुश्मनलाई
लम्पसार पार्दै-
हत्ते देखाएर उसको मन
पगाल्नपट्टि नलागेर
साथै उसले सोझै
मसँग मागेको प्रहार नदिएसम्म
म नबिलाउँ, नडगुँ !
म अहिल्यै त नमरुँ !
मेरो एउटै यो जिउँदो गुनासो !
नमरेको यो धोको, यही एउटा धीत
म अहिल्यै त नमरुँ, नमरुँ !
अहिल्यै त नमरुँ !
0000
आमाको सपना
आमा, त्यो आउँछ र ?
"हो बा, त्यो आउँछ ।
त्यो विहानीको सूर्यझैं उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुण्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देखनेछौ;
त्यसैले उ अधर्मसित लड्नेछ ।
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बड्ता छोइने भएर आउँछ ।"
हो र आमा ?
"हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाँया देखने आसा गरेकी थिएँ;
तिम्रो हिँस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि;
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनी;
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो वाँसुरी बनाएनछ !
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो ।
जेहोस त्यो आउँछ;
म आमा हुँ, सारा सृजना शक्तिको मुख भएर
म भन्न सक्तछु,
त्यो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन ।
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ;
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ;
तिमी त्यसलाई आफै नै देखन सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ;
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ;
मैले यसरी रोगीलाईझैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन !
हेरौँला, त्यो हुरी भएर आउनेछ
तिमी पात भएर पछ्याउनेछौ !
उहिले त्यो जीवनलोकबाट झरेर जुनजस्तै पोखिदा
सारा जड्ता सब बगाएको थियो, बा;
त्यो आउँनेछ, तिमी उठनेछौ !"
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरुको कण्ठजस्तै
त्यो आउने आसाले मेरो हृदयलाई कुत्कुताइसक्यो आमा !
"हो, त्यो आउँछ,
त्यो बिहानीको सूर्यझैं उज्यालो छर्दै आउँछ ।
अब म उठेँ, गएँ ।"
० ० ०
"तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो ।"
0000
(2)
गुनासो
म अहिल्यै त नमरुँ, नमरुँ !
मेरो यही एउटा इच्छा, यही एउट पुकार
एउटै यो जिन्दगी गुनासो, रहीरही ठुँग्ने यो
एउटै पीर-
म नमरुँ, अहिल्यै नमरुँ !
मैले नहिर्काइ चित्तै नबुझ्ने गरी थाहा पाएँ-
मेरा यी पाखुरामा कुन बल लुकेका रहेछन-
म वालीजतिकै बलियो रहेछु
मलाई हटाउन रामलेजस्तै
लुकेर प्रहार गर्नुपर्ने रहेछ ।
त्यसैले यो मेरो भुजाको बलले,
मेरो हृदयमा जागेको जहरिलो घृणाले,
मेरो धारिलो मष्तिष्कको चोटले
मेरो दुश्मनमाथि
म आफ्नो पनि माया मारेर
निस्फिक्री नबज्रेसम्म
मलाई मारेर आजसम्म
बाँचिरहेका दुश्मनलाई
लम्पसार पार्दै-
हत्ते देखाएर उसको मन
पगाल्नपट्टि नलागेर
साथै उसले सोझै
मसँग मागेको प्रहार नदिएसम्म
म नबिलाउँ, नडगुँ !
म अहिल्यै त नमरुँ !
मेरो एउटै यो जिउँदो गुनासो !
नमरेको यो धोको, यही एउटा धीत
म अहिल्यै त नमरुँ, नमरुँ !
अहिल्यै त नमरुँ !
0000
No comments:
Post a Comment